तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिलाहरूलाई राहत तथा स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर । मानव अधिकारका लागि महिला एकल महिला समूह कञ्चनपुरले कञ्चनपुरको बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा राहत तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका २०४ जना र बेलडाँडी गाउँपालिकाका ५ वटै वडाका ९६ जना गरी जम्मा ३ सय जना एकल महिलाहरूलाई राहत वितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीले बताउनु भयो ।

शुक्रबार बेलडाँडी गाउँपालिकामा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्दै कार्यक्रम संयोजक जयन्ती देवी पन्तले दलित, जनजाति, अपांगता भएका ग्रामीण क्षेत्रका एकल महिलाहरूको जीविकोपार्जनका लागि राहत वितरण गरिएको बताउनु भयो ।

त्यस्तै कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षाका लागि ३ सय जना विपन्न एकल महिलाहरूलाई स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गरिएको उहाँको भनाइ छ । उहाँले एकल महिलाको हक अधिकारका लागि आफुहरू केन्द्रित भएको दाबी गर्नुभएको छ ।

राहत तथा स्वास्थ्य सामग्री वितरण गर्दै बेलडाँडीका जनप्रतिनिधिहरूले कोरोना महामारीको समयमा गरीब तथा विपन्न एकल महिलाहरूलाई सहयोग गर्ने संघसंस्था प्रति आभार व्यक्त गरेका छन् । निश्चित संख्यामा राहत वितरण गरिए पनि अझै थुप्रै घरपरिवार छुटेको जनप्रतिनिधिहरूको भनाइ छ ।

यसअघि विभिन्न संघसंस्थाहरूको सहकार्यमा कञ्चनपुरका पालिकाहरूले समेत कोरोना महामारीका बीच गरिएको बन्दाबन्दीको समयमा विपन्न तथा गरीब घरपरिवारलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button