तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहलाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण

सुनसरी । प्रदेश १ सरकारले प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद् ब्यवस्थापन र स्वास्थ्य सेवाका लागि एक/एक वटा दमकल र प्रहरी भ्यान हस्तान्तरण गरेको छ ।

विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यान हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रहरी कार्यालय रानीमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको पाँच करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र छ करोड २८ लाख २७ हजार ४६० रुपैँया बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गरेको छ ।

तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा तीन सामाग्री हस्तान्तरण गरिनेछ ।

बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका दमकल, प्रहरी भ्यान सम्बन्धित स्थानीय तहका प्रमुख र अध्यक्ष संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन हुने मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button