कर्णाली प्रतिष्ठानमा अनिश्चितकालिन तालाबन्दी
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
उपकुलपति डा.राजेन्द्रराज वाग्लेले अनियमित तवरले एकपछि अर्को डिन नियुक्ति गरेको र तोकिएको समयभित्र निर्णय फिर्ता नलिएको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा तालाबन्दी गरेको हो ।
सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन एकल निर्णयले नियुक्त गरेका थिए ।
पहिलाका दुईजना डिन पनि प्रयाप्त काम नपाईरहेको अबस्थामा पुनः तेस्रो डिन नियुक्त गरेकोप्रति कर्मचारी आन्दोलित भएका थिए । बुधबार देखि तालाबन्दी गरेसंगै अस्पतालका सबै प्रशासनिक काम ठप्प भएका छन् ।
उपकुलपति डा.वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । हिजो कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लैजान २४ घण्टाको समय दिएका थियो ।
तर २४ घण्टा बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नभएकोले बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिनुभयो ।
अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिन लगायतका सम्पुर्ण फजुल नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरु कार्यन्वयन गर्नुपर्ने र कोरोनामा खटिने सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता तत्काल उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।
मागको सम्बोधन नभए इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने कर्मचारी कल्याणकारी समाजले चेतावनी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्