तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको कुरेलीमा स्वास्थ्यचौकी भवन निर्माण

रोल्पा । रोप्लाको परिवर्तन गाउँपालिका वडा नम्वर १ कुरेली, खरिबोटमा अलपत्र रहेको स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रेडक्रस र परिवर्तन गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत निर्माणाधिन ८ कोठे भवन लामो समयदेखि अलपत्र अवस्थामा थियो । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम (सिइएचपी) नेपालगञ्जको सहयोगमा भवन निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगरले बताउनुभयो ।

स्वास्थ्यचौकी भवन निर्माणका लागि १५ कार्तिक २०७६ बाट शुरु भइ ३१ वैशाख २०७७ मा निर्माण गरिसक्ने सम्झौता थियो । करिब ६ महिनाभित्रै सकिसक्ने सम्झौता अनुसार स्थानीय उपभोक्ता समितिले समयमै निर्माण गरिसकेको तर कोरोनाका कारण सुचारु गर्न सकिएको थिएन ।

रेडक्रसको ५५ लाख ६५ हजार ६ सय दुई, परिवर्तन गाउँपालिकाको १५ लाख र समुदायको चार लाख १५ हजार ७ सय १० गरी जम्मा ७४ लाख ८१ हजार ६ सय १३ रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button