युवाहरुको सहयोगमा विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका

स्याङ्जा । स्थानीय युवाहरुको सहयोगमा अति विपन्न परिवारको घर बनाउने कामलाई गल्याङ नगरपालिकाले तिव्रता दिएको छ ।
गल्याङ वडा नं. १० बाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरका अन्य वडाहरुमा पनि विस्तार गरिएको छ । वडा नं. ५ रुपाखानीमा पनि घर निर्माणको काम सुरु गरिएको हो ।
नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकामा रहेका सबै विपन्न परिवारको घर बनाउने प्रतिवद्वता जनाउनुभयो । उहाँले भन्नुभयो –‘एक वर्ष भित्रमा सबै विपन्नको घर बनाएर छाड्नेछौं ।’
नगरपालिकामा अहिलेसम्म करिब ७५ वटा घर बनाउनुपर्ने अवस्थामा रहेको र थप भएमा पनि बनाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । सकारात्मक सोचका साथ सहयोगको भावनाको विकास गर्नुपर्ने भन्दै उहाँले सबैभन्दा बढि विपन्न परिवारको सहयोग गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो ।
युवा संघ र तरुण दल जस्ता राजनीतिक पार्टीका भातृ संगठनले पनि अब विपन्न परिवारका घर बनाउने कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने उहाँको सुझाव छ ।
फरक प्रसंगमा प्रमुख अधिकारीले बाख्रापालनका लागि ३० करोड रुपैयाँको परियोजनाको काम सुरु भएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले अति विपन्न परिवारका लागि नगरपालिकाले थालेको यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
स्थानीय क्लब, आमा समुहको श्रमदानमा नगरका विपन्न परिवारको आवास निर्माणमा गल्याङ जुटेको हो । अहिलेसम्म नगरभित्र ७५ वडा घरहरु निर्माण गर्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्