ठूलो परिमाणको लागु औषधसहित ३ जना पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार जाँचपास भई वीरगञ्जबाट काठमाडौं जान लागेको ट्रकबाट ठूलो परिमाणमा रहेको अवैध लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा प्रहरीले अवैध लागु औषध वीनसिरेक्स १ हजार २ सय ६ बोतल र नुरफिन, फेनारगन, डाईजेपामको ८ सय ९१ एम्पुल बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित रामगढवा सडक खण्डमा इलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट खटिएको गस्ती टोलीले वीरगञ्ज आईसिपी भन्सार जाँच पास भई काठमाडौ जान लागेको एचआर ३८ भि ४८९५ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा सो ट्रकको चालक क्याविनबाट लुकाई राखेको अवस्थामा अवैध लागु औषध नुर्फिन २ सय ९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन गरि ८ सय ९१ एम्पुल इन्सेक्सन र वीनसिरेक्स १०० एमएलकोे १ हजार २ सय ६ बोत्तल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
प्रहरीले ट्रकका चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने २० बर्षिय बिक्रान्त पटेल र सोही ट्रकमा सवार रक्सौल निवासी २८ बर्षिय रामबालक राम र २० बर्षिय आकाश कुमार राम समेतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पन्तले बताउनु भयो ।
अभियुक्तहरुलाई आज जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरि लागु औषधसहित सार्वजनिक गरिएको थियो ।
पक्राउ परेकाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषधसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत पर्सामा आज दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरिक्षक पन्तले बताउनु भयो ।
लागु औषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४ (१) को (झ) अनुसार अभियुक्तलाई २ वर्षदेखि १० वर्षसम्म कैद र एक देखि बीस लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको पन्तले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्