तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभाव : मोफसलमा बिरामीको चाप

दोलखा : सिन्धुपाल्चोक सागाँचोकगढी नगरपालिका वडा नम्बर १ चौताराका ७५ वर्षीय रामबहादुर बिष्टले कहिल्यै सोचेका थिएनन् होला, प्रस्तावित चरिकोट अस्पतालमा आफ्नो पुनर्जन्म हुन्छ भनेर ।

कोरोना सङ्क्रमणको तीव्र वृद्धिले काठमाडौँको सुविधा सम्पन्न अस्पतालमा बिरामीको उपचारमा समस्या हुन थालेपछि धेरैले कि त अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था बनेको छ, कि उपचारको लागि मोफसल तिरै फर्कन बाध्य हुने गरेका छन् ।
काठमाडौँका सुविधा सम्पन्न अस्पताल चाहरेर पनि उपचार पाउन नसकेपछि मोफसल फर्किएर उपचार गराउन बाध्य भएकाहरू मध्यकै एक हुन् सिन्धुपाल्चोक चौताराका रामबहादुर बिष्ट ।

हर्नियाको समस्याका कारण असोज १७ गते बिरामी परेका रामबहादुरलाई तत्कालै काठमाडौँ लागियो तर कोरोना महामारीका कारण कतै बेडको अभाव त कतै कोरोनाको रिपोट नभएको भन्दै उपचार गरिएन । काठमाडौँको वीर अस्पताल, सिभिल अस्पताल, अल्का अस्पताल लगायतका अस्पताल चहारेर पनि उपचार नपाएपछि छोरा देवीवहादुर विष्टले चरिकोटको प्रस्तावित चरिकोट अस्पताल ल्याउनु भएको थियो । ‘मैले डाक्टर विनोद दंगालले प्रस्तावित चरिकोट अस्पतालमा राम्रो उपचार गर्नुहुन्छ भन्ने सुनेको थिए, देवीवहादुरले भन्नु भयो – त्यसैले काठमाडौँमा उपचार नभए पछि रातिनै चरिकोट ल्याए ।’

असोज १८ गते बिहान चरिकोटको प्रस्तावित अस्पतालमा ल्याईपु¥याईएको रामबहादुरको उपचार डाक्टर विनोद दंगालको टिमले तत्कालै सुरु गरेको थियो । स्ट्रायान्गुलेटेड हेर्नियाको समस्याका कारण बिरामीको सानो आन्द्राको ५० मिटर भाग आएर अड्किएको कारण कुहिएकोले तत्काल अप्रेसन गरेर फालिएको न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो ।

निक्कै चिन्ताजनक अवस्थामा अस्पताल ल्याई पु¥याईएको रामबहादुरको तत्कालै हेर्नियोह्रर्याफि र रिसेक्स यानास्टोमोसिस (हेर्नियाको उपचार र कुहिएको आन्द्रा काटेर फालिएको) शल्यक्रिया गरिएको थियो ।

डाक्टर विनोद दंगालको नेतृत्वमा डाक्टर उदय दिवाकर, डाक्टर सन्तोष पाठक र नर्स रश्मि वासीको टिमले तीन घण्टा लगाएर सफलता पूर्वक अप्रेसन गरेको थियो । ‘यस्तो प्रकारको अप्रेसन सुविधा सम्पन्न अस्पतालमा गरिदा पनि सफल हुने सम्भावना निक्कै कम हुन्छ’ डाक्टर विनोद दंगालले भन्नु भयो – ‘सुविधा सम्पन्न ठाउँबाटै ल्याइएकोले अन्यत्र रिफर गर्ने अवस्था पनि थिएन त्यसैले हामीले जोखिम मोलेरै अप्रेसन ग¥यौ र सफल पनि भयौँ ।’

अप्रेसन पछि अस्पतालको बेडमा तङ्ग्रिँदै गर्नु भएका रामबहादुरले आफ्नो लागि डाक्टर विनोद दंगाल भगवान नै बनेर आएको बताउनु भयो । काठमाडौँका विभिन्न अस्पतालले कोरोनाको बहानामा उपचार गर्न नमाने पछि छोराले चरिकोट उपचार गर्न जाँउ भन्यो, म पनि मरे अब चरिकोटमै मर्छु भनेर सहमति जनाएर आए, रामबहादुरले भन्नु भयो – तर मलाई डाक्टर विनोद दंगालको रूपमा भगवान आएर बचाउनु भयो । आफु पहिलो पटक साउन २१ गते बिरामी हुँदा पनि काठमाडौँको अस्पतालहरूले कोरोनाको बहानामा राम्रो उपचार नगरिदिएको रामबहादुरको गुनासो छ ।

बुबालाई काठमाडौँको विभिन्न अस्पतालमा डुलाउँदा डुलाउँदै झन्डै एक लाख सकिएको तर प्रस्तावित चरिकोट अस्पतालमा निःशुल्क रूपमा बुबाको जटिल अप्रेसन सम्पन्न भएको देवीबहादुरले बताउनु भयो । उपचारमा संलग्न न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगाल काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा यस्तो प्रकृतिको अप्रेसनमा थोरैमा पनि ३÷४ लाख खर्च हुने बताउनु हुन्छ ।

न्याय हेल्थ नेपालले प्रस्तावित चरिकोट अस्पताल सञ्चालनको पाँच वर्षको अवधिमा १० वटा अत्यन्तै जटिल अप्रेसन गरेको र ९ ओटा सफल भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालको भनाई छ । आफ्नो १२ वर्षको दोलखा बसाइँको क्रममा धेरै जटिल अप्रेसन गरेको अनुभव रहेको र न्याय हेल्थमा काम गरेको पाँच वर्षको अवधिमा झन्डै २१ सय वटा शल्यक्रियामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको डाक्टर दंगालले बताउनु भयो ।

कोरोना संक्रमण पछि काठमाडौँ लगायत देशको विभिन्न ठाउँमा उपचार सेवा नपाएको जटिल प्रकृतिका बिरामीहरू प्रस्तावित चरिकोट अस्पतालमा आउने गरेको र उनीहरू सबैलाई उपचार सेवा प्रदान गरिएको डाक्टर दंगालको भनाई छ । तर अब न्याय हेल्थ नेपालले आर्थिक लगायत विविध कारणले अस्पताललाई सहयोग गर्ने अवस्था नबनेकोले समस्या सुरु भएको डाक्टर दंगाल बताउनु हुन्छ । अस्पताललाई पहिलेकै जसरी उत्कृष्ट सेवा सहित सञ्चालन गर्न संघ, प्रदेश र स्थानिय तीनै तहको सरकारको सहयोग आवश्यक हुने डाक्टर दंगाल बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button