अल्लो प्रशोधन मेसिन प्रयोगविहीन
पर्वत । अल्लो उद्योगमा नयाँ प्रविधिको प्रयोग गर्न खोजिए पनि पर्वतको एक गाउँमा भने प्रयोगविहीन भएको छ । जिल्लाको मोदी गाउँपालिका ३ क्याङमा नमुना प्रविधियुक्त मेसिन उपलब्ध गराए पनि महिलाहरूले चलाउन नजान्दा प्रयोगविहीन भएको हो । गत वर्ष पोखरा विश्वविद्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा अल्लो धुवा प्रशोधनका लागि स्थानीय उद्यमीलाई उक्त मेसिन उपलब्ध गराइएको थियो ।
अल्लो प्रशोधन गर्दा समय र श्रममा बचत हुने विश्वासका साथ जडान गरिएको प्रविधि प्रयोग गर्न समस्या भएको भन्दै स्थानीयले उक्त प्रविधि प्रयोग गर्न छोडे पछि प्रविधि प्रयोग विहीन भएको वडाध्यक्ष मनकुमार पुनले जानकारी दिनुभयो ।
भूमेप्रसाद डल्लु सामुदायिक अल्लो उद्योगमा उक्त प्रविधिको जडान गरिएको छ । पोखरा विश्व विद्यालय र कोरियाको ह्यान्डङ ग्लोबल यूनिर्भसिटिको साझेदारीमा सञ्चालित नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्राइजेज सेन्टरको सहयोगमा उक्त प्रविधि जडान गरेको हो । मेसिन जडान गरेको २ वर्षमा अहिले मेसिन खिया लागेका छन् भने प्रयोग नभएर ती मेसिनहरू थन्किएका छन् ।
नेपाल र कोरिया बिचको खोज र अनुसन्धान कार्यबिचको सहकार्य बमोजिम उक्त प्रविधि परीक्षणको रूपमा जडान गरिएको थियो । उद्यमी रनमाया पुनले मेसिन चलाउन नजानेपछि पुरानै प्रविधिको प्रयोग गर्दै आएको सुनाउनुभयो । नेपालमा अल्लो प्रशोधन र त्यसबाट उत्पादन भएका कपडाहरूको बजार पछिल्लो समय फस्टाउँदै गएको छ । जिल्लाका देउराली, क्याङ, शालीजा, लेकफाँट लगायतका स्थानमा लघु घरेलु उद्यमीहरूले व्यवसायीक रूपमा नै अल्लो प्रशोधन गर्दै आएका छन् । जङ्गलमा पाइने चाल्ने सिस्नोलाई प्रशोधन गरी त्यसबाट कोट, पाइन्ट, झोला लगायतका सामाग्रीहरू उत्पादन गर्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्