परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो
डोटी- जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् ।
हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ । हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ ।
साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८ की मुक्त हलिया लाली दमाईले गाविस छँदा नै केही मानिसले आफ्नो हलिया परिचयपत्र बनाउने भन्दै नागरिकतालगायत कागजात मागेर लगेको भए पनि हालसम्म परिचयपत्र नदिएको गुनासो गर्नुभयो ।
सोही नगरपालिकाकै वडा नं ७ उडितोलाका चन्द्रा बिकले पनि आफ्नो पनि त्यसरी नै कागजपत्र लगेको भए पनि केही व्यक्तिको परिचयपत्र बनिसकेको तर सँगै पठाईएका अन्य धेरैका परिचयपत्र नबनेको बताउनुभयो । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा बस्ने राधा दमाईले कतिपय मुक्त हलियाले परिचयपत्र पाई नसकेको र पाईसकेकाले पनि परिचयपत्रअनुसार राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउन नसकेको गुनासो गर्नुभयो ।
सोही नगरका वडा नं ९ कलेना बस्ने लक्ष्मी नेपालीका अनुसार अलिकति कुरा जान्ने र गर्न सक्नेले मुद्दा प्रक्रियाबाट समेत परिचयपत्र लिएर सेवा सुविधा लिन सकिरहेको तर कमजोर अवस्थाका मुक्त हलियाको हालत ज्यूँकात्यूँ रहेको गुनासो गर्नुभयो ।
जिल्लामा मुक्त हलियाको पूर्ण तथ्याङ्क अझै सङ्कलन हुन नसकेको मुक्त हलियाको गुनासो रहेको छ । सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले केन्द्रबाट हलियाको नाममा आउने बजेट असारमा मात्रै आउने गरेको जानकारी दिनुभयो । उहाँले एक महिनाको छोटो समयमा काम गर्न समस्या हुने र काम नगरे बजेट फ्रिज जाने अवस्था भएकाले वास्तविक हलिया प्रत्येक वर्ष सरकारी सेवाबाट वञ्चित हुनु परेको बताउनुभयो ।
गैर सरकारी संस्था महासङ्घका अध्यक्ष रघुबहादुर कठायतले जिल्लाको सवालमा हलियाका अगुवाबीच विवाद र राष्ट्रिय मुक्त हलिया समाजको अस्तव्यस्तताले वास्तविक हलियाका मागहरु ओझेलमा परेको आरोप लगाउनुभयो । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भने हलियाका धेरै समस्या समाधान भएको र आगामी दिनमा बाँकी काम पूरा गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्