तपाईँ सुन्दै हुनुहुन्छः

असोजमै राम्ररी नपाक्दै मार्सी भित्राउदैं किसान

असोजमै मार्सी धान काट्दै जुम्ला किसान, तस्बिरः सागर परियार 
जुम्ला । जुम्लाका किसानले यस वर्ष असोजमै राम्ररी नपाकेको मार्सी धान भित्राउन थालेका छन् । पछि असिना पर्न सक्ने डरले नपाक्दै असोजको दोस्रो साताबाट जुम्लाका किसानले मार्सी भित्राउन थालेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाको वडा नं.४ र ५ का किसानहरूले असोजमै मार्सी भित्राइरहेका छन् । सामान्यता कार्तिक महिनाको पहिलो साताबाट मार्सी भित्राउने उपयुक्त हुने कृषि विज्ञहरू बताउँछन् ।
मार्सी धान ६ महिनापछि मात्रै परिपक्व र पोषिलो हुने भएकाले जेठमा रोपेको मितिले गणना गर्दा ६ महिना पुगेपछि मात्र मार्सी भित्राउन राम्रो हुन्छ, भने उत्पादनमा पनि गिरावट आउदैन् । तर चन्दननाथ नगरपालिका १० वडाका सबै मार्सी फाँट यस वर्ष असोज २१ गते सम्ममै रित्ती सकेका छन् । भने तातोपानी ४ हाँकु ज्युलो, तातोपानी ५ को नगर ज्युलो पनि खाली भइसकेको छ ।
विगतमा वर्षमा चाडै गरे पनि असोज अन्तिम साताभित्र मार्सी भित्राउने जुम्ली किसान यस वर्ष निकै हतार गरेर काँचो मार्सी भित्राइरहेका हुन् ।  तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चाय भन्छन्, “असोजमै हेर्दा धान परिपक्व देखिए पनि पुरै पोषिलो हुदैन्, कम्तीमा कार्तिक पहिलो साताबाटै मार्सी भित्राउनु पर्ने हो । तर किसानले आफ्नै तरिकाले असोजमै मार्सी भित्राएका छन् ।” कार्तिक नलागी मार्सी नकाट्न भनेर विगतमा सूचना पनि जारी गरिन्थ्यो । यस वर्ष गरेनौ कतिले बुझेर, कतिले नबुझेर असोजमै धान काटेका छन् तर उत्पादनमा खासै तलमाथि नहुने आर्चायको भनाई छ ।
अर्ग्यानिक जुम्ली मार्सी धानमा पाइने पोषणतत्व गुम्ने खतरा भएकाले मार्सी भित्राउन बाँकी किसानलाई कार्तिक पहिलो साता सम्म कुर्न कृषि संयोजक आर्चायले अनुरोध गरेका छन् । तर तातोपानी गाउँपालिकाका १, २, ३,वडाका ठुला मार्सी फाँटमा कार्तिक पहिलो साताबाटै मार्सी भित्राउने तयारी छ ।  भने तातोपानी क्षेत्रमा मार्सी धान उत्पादन सन्तोषजनक नै भइरहेको कृषि शाखा तातोपानीले जनाएको छ । यो समय सिमी, कोदो, फापर, घाँस, मकै लगायतका सबै बाली भित्राउने समय हो ।
अन्तिममा भित्राउने धान बालीलाई किसानले हतार गरी प्राविधिक पक्ष नबुझेकै कारण असोज महिनामा मार्सी भित्राइरहेका यस बारे आवश्यक जनचेतना अभिवृद्धि आवश्यक रहेको कृषि प्राविधिक लक्षिराम महतले बताए । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा काली मार्सी धान पाक्न थालेको छ ।
हाल जुम्लाको दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताए ।  स्वादिलो, आडिलो  तथा स्वास्थ्यकर हुने मार्सीको माग बढ्दै गए पनि उत्पादन घट्दै गएको छ ।  कृषि अनुसन्धान केन्द्र विजयनगरले धानका उन्नत जात उत्पादन गरे पनि गाउँ किसान सम्म बिउ नपुग्दा उत्पादनमा कुनै फेरबदल आएको छैन । दसैँको घटस्थापनाका दिनमा मार्सी धान (न्वाघी) अर्थात् पहिलो दिन पकाएर खाने चन्दननाथ बाबा र मठमन्दिरमा मार्सी चढाउने चलन छ । तर जुम्लामै पहिलो पटक मार्सी रोपिएको लाछु जिउलोमा भने धान काटिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button