पर्यटकीय हिसाबले गण्डकी प्रदेश नेपालकै उत्कृष्टः मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बेसीशहर–४, पुरानकोट गढीस्थित पर्यटकीय स्तुपा सहितको भ्यु टावरको शिलान्यास गर्नुभएको छ ।
आइतबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पर्यटकीय हिसाबले लमजुङ मात्रै नभई गण्डकी प्रदेश नेपालकै उत्कृष्ट रहेको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले कोभिड १९ का कारण पर्यटन क्षेत्र अस्तव्यस्त भएको बताउँदै यस क्षेत्रलाई उकास्न, पर्यटन व्यवसायीहरूलाई प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउने र व्यावसायिक पर्यटन सुरु भएका ग्रामीण पर्यटकीय सम्पदाहरूको थप प्रवर्द्धन गरी आगामी १० वर्ष भित्र दक्षिण एसियाकै नमुना गन्तव्य बनाउने बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण जोखिमसँगै देशमा लकडाउन हुँदा अधिक मात्रामा पर्यटन, कृषि, यातायात, होटेल लगायतका क्षेत्रमा अधिक प्रभाव परेको भन्दै सबै पेसा व्यवसायको प्रवर्द्धनका लागी प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कोरोना प्रभावित क्षेत्र प्रवर्द्धनका लागि राहतस्वरुप करिब एक अरब ८५ करोड रुपैयाँ बरावरको कोभिड प्रभावित सुरक्षा कोष खडा गरेको मुख्यमन्त्री गुरुङको भनाई छ ।
स्थानीय तहहरूले पर्यटकीय सम्पदाहरू निर्माण गर्दै गर्दा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै आगमन हुने बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हुने मुख्यमन्त्री गुरुङको विश्वास छ ।
त्यस्तै बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सभाका लागि नेकपा मुख्य सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य मधुमाया अधिकारी, बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्