तपाईँ सुन्दै हुनुहुन्छः

थप २४४० जनामा कोरोना सङ्क्रमण, ११३३ जना सङ्क्रमण मुक्त 

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण आज काठमाडौँ उपत्यकामा १२ सहित देशभर १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज कोरोना सङ्क्रमणका कारण देशभर ५ महिला र १४ पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
सङ्क्रमणबाट काठमाडौँमा ९, ललितपुरमा ३, सर्लाहीमा २ जना, सुनसरी, पर्सा, चितवन, गोरखा र नवलपरासी पूर्वमा १÷१ जनाको मृत्यु भएको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ५ सय ५४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर दुई हजार चार सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ९ सय ३७ महिला र एक हजार ५ सय ३५ पुरुषमा संक्रमण पुष्टि भएको प्रा. डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज काठमाडौँमा एक हजार एक सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा एक सय ३ जना गरी काठमाडौँ उपत्यकामा एक हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् ।
आज देशभर नयाँ संक्रमित थपिएका ६२ जिल्ला मध्ये सुनसरीमा एक सय २२, चितवनमा एक सय ३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८ र मोरङमा ५५ जना छन् भने  बाँकी अन्य जिल्लामा ५० भन्दा कम सङ्ख्यामा संक्रमित भेटिएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेका कुल सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप एक हजार एक सय ३३ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६५ हजार दुई सय २ जना पुगेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज देशभर ७३ जिल्लामा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।  सक्रिय संक्रमितहरु मध्ये १२ हजार तीन सय १६ जना होम आइसोलेसनमा र ११ हजार एक सय ९१ जना संस्थागत आईसोलसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण भएका २ सय ४४ जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले कोरोना संक्रमण दिन प्रतिदिन वृद्धि भइरहेको कारण समय अनुकूल भई चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सहर बजारमा चलहपहल बढेको पाइएको भन्दै चाडपर्वमा भेटघाट तथा जमघट गर्ने प्रचलन भए पनि संक्रमण बढ्ने जोखिम रहेको हुँदा सबैले जीवनशैलीमा परिमार्जन गरी चाड पर्व मनाउन आग्रह गर्नुभयो ।
यस्तै, दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दिपक कुमार शाहले कोरोना सङ्क्रमणका कारण हाल सञ्चालन भइरहेका अनलाइन कक्षामा लामो समयसम्मका विद्युतीय उपकरणको प्रयोग हुँदा विद्र्यार्थीहरुको आँखाको स्वास्थ्यमा असर बढ्ने भएकाले व्यवस्थित अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिनुभएको छ ।
उहाँले प्रत्येक दिन ८ देखि १० घण्टा सम्म विद्युतीय उपकरणहरूको प्रयोग गरेको पाइएको भन्दै  यसले बालबालिकाहरूमा अदुर दृष्टि दोष बढेको र तत्कालीन तथा दीर्घकालीन समस्या देखिने हुँदा विद्यार्थीको उमेर समूह अनुसार पढाई समयावधिको निर्धारण गरी अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button