प्रदेशसभा बैठक मंगलबार १२ बजे बस्नेगरी स्थगित

रुपन्देही । प्रदेश ५ को प्रदेशसभा बैठक मंगलबार १२ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रदेशको नाम तथा स्थायी राजधानीको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको आजको बैठक दिउसो १ बजे सुरु भई स्थगित भएर पुनः सञ्चालन भएको थियो । बैठकमा स्थायी राजधानीको प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य दलहरुले संसदमा नाराबाजी गर्दै कुर्सी टेबलसमेत तोडफोड गरेका थिए ।
यसैगरी विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रस्तावको विरोध गर्नुभएको छ । विधि र प्रक्रिया विपरीत प्रस्ताव ल्याइएको बताउँदै उहाँले अव्यवहारिक ढंगले स्थायी राजधानी दाङ राख्ने प्रस्ताव आएको बताउनुभयो । सत्ता पक्षका विभिन्न सांसदहरुले रुपन्देही, दाङ तथा कपिलवस्तु राजधानी रहनुपर्ने भन्दै आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठक अवधिभर नाराबाजी तथा कुर्सी तोडफोडमा लागेका विपक्ष दलका सांसदहरुले गलत प्रक्रियाबाट संसदमा प्रस्ताव ल्याइएको बताउँदै कडा विरोध प्रदर्शन गरेका थिए ।
बैठक सुरु हुनेवित्तिकै कांग्रेस र जनता सामाजवादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेपछि संसद सभाभित्र केही समय तनाब भएको थियो । तर नाराबाजीबीच सभामुख पूर्णबहादुर घर्तिले बैठक अघि बढाउनुभएको थियो । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रस्तावका विषयमा बोल्न समय दिनुभएको थियो । मन्त्री केसीले प्रदेशका सबै क्षेत्रको भावना समेट्नेगरी राजधानी देउखुरी उपत्यकामा राखिएकोले सबै माननीयले विवेक प्रयोग गर्न अनुरोध गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्