तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा हट्ने बित्तिकै सरकारी अड्डामा भिड

सप्तरी । सप्तरीको जिल्ला प्रशासन कार्यालय परिसरमा दैनिकरुपमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । कोही नयाँ नागरिकता लिन त कोही पासपोर्ट लिनेहरुको भिड लाग्ने गरेको छ । कर्मचारीलाई काम गर्न भ्याइ–नभ्याइ छ ।

चैत ११ गते संक्रामक रोग कोभिड–१९ (कोरोना) को कारण मुलुकमा बन्दाबन्दी घोषणा गरिएको थियो । बन्दाबन्दीमा छ महिनासम्म सेवाग्राहीको दैनिक प्रशासनिक कार्य ठप्प रहेको थियो ।

सरकारले सार्वजनिक यातायात खोल्न अनुमति दिइसकेपछि जिल्लामा गाउँदेखि सहरसम्म सर्वसाधारणको ओहोरदोहोर बढेपछि सप्तरीको जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाडका साथ काम सुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा छ महिनासम्म प्रतिक्षामा रहेका नयाँ पुस्ताका युवाहरु नागरिकता लिन हतारमा देखिन्छन् । एक जनाले नयाँ नागरिकता लिन तिनका अभिभावकलाई सनाखतका लागि अनिवार्य उपस्थिति हुनुपर्ने हुन्छ ।

यसबाहेक नागरिकताको प्रतिलिपि लिन, राहदानी लिन, सरकारी विज्ञापन भर्न मधेशी, दलित, जनजाती लगायत सिफारिस लिन, युवा क्लब र विभिन्न सामाजिक संघसंस्था दर्ता गर्न जस्ता काम लिएर सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने गरेको त्यहाँका कर्मचारी बताउँछन् ।

छ महिनादेखि कार्यालय बन्द भएर होला, यो अवधिमा जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई सेवाग्राहीको काम गर्न भ्याइ–नभ्याइ रहेको कर्मचारीहरु बताउँछन । छ महिनासम्म सार्वजनिक स्थानमा भिडभाड नगर्न, सामाजिक र भौतिक दूरी कायम गर्नजस्ता नियमको पालना गराउने कार्यमा सक्रिय रहेको जिल्ला प्रशासन कार्यालयमा आज भोली सेवाग्राहीको भिडले कोरोना संक्रमणको जोखिम रहेको कर्मचारीहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयबाहेक मालपोत कार्यालय, विद्युत कार्यालय, आन्तरिक राजश्व कार्यालय, नापी कार्यालय र अस्पतालहरुमा सेवाग्राहीको भिड अपत्यारिलो तरिकाले बढेको देखिन्छ ।

कोरोना संक्रमणको भयले छ महिनासम्म शरीरभित्रै पीडा दबाएर राखेका दिर्घरोगीहरु अस्पतालमा र अन्य प्रशासनिक कार्य गर्न तथा राजश्व तिर्न सम्बन्धित कार्यालयहरुमा सर्वसाधारणको भिड दैनिक बढन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button