जिपि अस्पतालको सेवा पुन:सुचारु
दमौली– नहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो ।
कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँ अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यसैबीच दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेललाई कोरोना पुष्टि भएको छ ।
शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार उहाँलार्ई कोरोना पुष्टि भएको हो । घाँटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । उहाँसँगै अस्पतालका कार्यालय सहयोगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच जनाको स्वाब पठाइएकामा तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
अस्पतालको सेवा भने सञ्चालनमै रहने भएको छ । अन्यको स्वाब पठाएर रिपोर्ट कस्तो आउँछ त्यसपछि थप निर्णय गरिने अस्पतालले जनाएको छ ।
तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी
तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो ।
जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ ।देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले विसं २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो । सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ ।
यी दुई घटना त उदाहरण मात्रै हुन् । अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ । प्रहरीको अभियान अन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १ सय ६३ फरार प्रतिवादी पक्राउ परेका छन् ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका प्रतिवादीले रु २५ देखि रु २२ हजारसम्म जरीवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिना सम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । प्रहरीका अनुसार असार महिनामा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा ६० जना पक्राउ परेका छन् ।
पक्राउ परेका प्रतिवादीबाट रु २४ लाख भन्दा बढी जरीवाना असुल गरिएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ । जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्