तपाईँ सुन्दै हुनुहुन्छः

रामारोशनका बाढी पहिरो प्रभावित क्षेत्रको डीपीआर तयार गरिँदै

अछाम । गत भाद्र २ गते राति आएको बिनाशकारी बाढीले तहसनहस बनाएका अछामको कैलाशखोला आसपासका भुभागको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरीने भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्वर ६ दर्नाको गजडबजार देखि रामारोशन सम्मको क्षेत्रमा थप क्षति हुन नदिन तटबन्धन गर्नका लागि डिपीआर तयार गर्न लागिएको हो ।

बिनासकारी बाढीले रामारोशन क्षत्रमा ठुलो क्षति गरेकाले आगामी दिनमा थप क्षति हुन नदिन सबै क्षेत्रको डिपीआर तयार गर्न लागिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले बताउनुभयो । प्रभावित क्षेत्रको डिपीआर एक हप्ताभित्र सक्ने गरी शुक्रबारबाट रामारोशनको गजडबजार र दर्नाको पाटेखेतबाट सर्भेको काम सुरु भईसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष साउँदले १ हप्ता भित्र सर्भे गरी सक्ने र छिटो भन्दा छिटो डीपीआर तयार पार्ने योजना रहेको बताउँदै आगामी दिनहरुमा थप क्षति हुन नदिन के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा गाउँपालिका लागिपरेको बताउनुभयो ।

काठमाडौँको कस्मीक ईन्जिनियरिङका अध्यक्ष तथा ईन्जिनियर खकेन्द्र कुमार साउदको नेतृत्मा ६ जना र गाउँपालिकामा कार्यरत ईन्जिनियरहरुको टोली सर्भेमा खटिएका छन ।

भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाको शव प्राप्त भएको र अझै ९ जना हराईरहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयौँ रोपनी खेतीबारी बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button