अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १२ वटा गाडी नियन्त्रणमा
बर्दिवास । महोत्तरीमा भइरहेको अवैध नदी उत्खन्न अनुगमन गर्न पुगेको टोलीले बर्दिवास नगरपालिकास्थित रातुखोलाबाट अनुगमनका क्रममा उत्खनन् र नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १२ वटा गाडी नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललसहित नदी सम्पदामा जारी अवैध दोहन रोक्न जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले गरेको अनुगमनको क्रममा ती सवारी साधनहरु नियन्त्रणमा लिएको हो । छ वटा ट्याक्टर, छ वटा टिपर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनहरुको बारेमा अनुसन्धान प्रकृया थालिएको प्र्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो ।
बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदी उकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले नदी सम्पदामा जारी अवैध दोहन रोक्नुपर्ने बताएका छन् ।
मापदण्डविपरित भइरहेको उत्खनन् रोक्न सम्बन्धित स्थानीय तहले र स्थानीय प्रहरी प्रशासनले कुनै ध्यान नदिएको स्थानीयहरुको आरोप छ ।
जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा नदी र नदी उकास बगरमा अवैध उत्खनन् गर्दै आएका ७० भन्दा बढी क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन् ।
बर्दिवास, भङ्गहा अवैध दोहनको मुख्य क्षेत्र रहेको अनुगमनको क्रममा भेटिएको अनुगमन टोलिले जनाएको छ । जिल्लामा धेरैजसो क्रसर उद्योगहरु नियमविपरित सञ्चालन हुँदै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि अवैध उत्खनन् र ऐलानी पर्ति जमिनमा भइरहेको अतिक्रमण रोक्नु सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्