अछामका स्वास्थ्य संस्थाको योजना तर्जुमा तथा समीक्षा
अछाम । अछाम जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएको प्रगतिको समीक्षा गर्दै जिल्ला स्तरीय योजना तर्जुमा तथा समीक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।
२ दिनसम्म चलेको वार्षिक समीक्षामा आर्थिक वर्ष २०७६/०७७ मा भएको प्रगतिको समीक्षा र आगामी आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य क्षेत्रमा गर्ने योजनाको बारेमा रणनीतिक योजना तयार पारिएको छ ।
जिल्लाका १० वटै स्वास्थ्य संस्था, २ अस्पताल तथा जिल्लास्थित स्वास्थ्यको क्षेत्रमा काम गर्ने दातृ संस्थाले गरेको प्रगति र भावी योजनाको बारेमा जानकारी गराएका थिए । २ दिने समीक्षा कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले हरेक स्वास्थ्य संस्थाले बनाएका कार्य योजना कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्नुभयो । आगामी दिनमा स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको सबैले प्रशंसा गर्दै अझै गुणस्तरीय बनाउन सुझाव, सल्लाह दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले कोरोनाको संक्रमण तथा जोखिमका बेला स्वास्थ्यकर्मी तथा हरेक क्षेत्रबाट यसलाई नियन्त्रणका लागि सबैको साथ रहेको बताउनु भयो । जनस्वास्थ्यका कार्यक्रम समुदाय स्तरमा पुगिरहेकाले यसको उपलब्धि क्रमिक रूपमा देखिँदै जाने बताउनु भयो ।
जिल्लामा स्वास्थ्य क्षेत्रको प्रगतिका लागि आफ्नो कार्यालय लागिपरेकाले सबैको साथको आवश्यक रहेको बताउनु भयो । नागरिकको आधारभूत हक स्वास्थ्य सेवा पाउनु भएकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।
समापन कार्यक्रममा जिल्ला अस्पताल अछामका अध्यक्ष प्रभुनाथ खनाल, युनिसेफ क्षेत्रिय कार्यालय नेपालगञ्जका खोप सल्लाहाकार सिता सुनार, सबै स्वास्थ्य शाखा संयोजकको तर्फबाट कमलबजार नगरपालिका स्वास्थ्य शाखा संयोजक चक्र बहादुर बिष्ट, सुआहारा अछामका प्रमुख लोक बहादुर नेपालीले सुझाव सहितको मन्तव्य राख्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको गुणस्तरका लागि सबैले साथ दिनुपर्ने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्