कोरोना सक्रिय संक्रमितको संख्या २० हजार बढी
काठमाडौं । कोरोना भाइरसबाट आज काठमाडौ उपत्यकामा मात्रै ९ सय ३४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरी थपिएका १ हजार ५ सय १३ जना नयाँ संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्रै ९ सय ३४ जना रहेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज काठमाडौमा ७ सय ४७ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन् ।
आज १० हजार ८ सय ९१ वटा नमूनाको रियल टाइम पिसिआर परीक्षण गर्दा विभिन्न ४५ जिल्लामा गरी ५ सय ५६ जना महिला तथा ९ सय ५७ जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म १० लाख ९ हजार २ सय ९८ वटा नमूनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा ७६ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।
हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको र निको हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज विभिन्न ७२ जिल्लामा गरी २० हजार ३ सय ९६ जना संक्रिय संक्रमित रहेका छन् ।
मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्लामा भने कोहीपनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित मध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसन तथा ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी गम्भीर लक्षण भएका २ सय १३ जना संक्रमितको आईसियु र ३४ जना संक्रमितको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज ३ महिला र ७ पुरुष गरी १० जनाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौ र बाँकेका ३–३, तथा मोरङ, सर्लाही, महोत्तरी र चितवनका १–१ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्