भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली
खोटाङ-दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।
गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन् । विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना सङ्क्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ । यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो ।
असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।
दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।
विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताउनुभयो । सात वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् ।
गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।
विद्यार्थीको सङ्ख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्न भनिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय विद्यालय बन्द हुँदा अधिकांश विद्यार्थीको पढ्ने बानी हटेको पाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्