तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारीको सिलसिलामा भारत जानेहरूको सङ्ख्या बढ्दै

बाँके । कोरोनाकालमा रोजगारीको सिलसिलामा भारत जानेहरुको सङ्ख्या दिनानुदिन बढदै गएको छ ।

नेपालमा रोजगार बिहीन भएका सयौँ नेपालीहरु दिनकै ज्यान जोखिममा पारेर भारत जाने गरेका छन । लकडाउन खुलेदेखि भदौ दोस्रो सातादेखि अहिलेसम्म नेपालगन्ज नाका भएर झण्डै २२ हजार नेपाली भारत गएका छन भने भारतबाट ७६ हजार ४८ जना नेपाली नेपाल भित्रिएका छन् ।

कोरोनाका कारण सरकारले लकडाउन गरेदेखि भाद्र मसान्तसम्म नेपालगन्ज नाका भएर ७६ हजार ४८ जना नेपाली स्वदेश फर्किएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताउनुभयो । उहाँले लकडाउन भएदेखि भाद्र मसान्तसम्म झण्डै ४० हजार भारतीय स्वदेश फर्किएको जानकारी दिनुभयो ।

भारतीय आधार कार्ड भएकालाई भारत जान दिइएको बताउँदै उहाँले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिनुभयो ।

भदौ १५ गतेदेखि झण्डै २२ हजार नेपाली कामका लागि भारत प्रवेश गरेको उहाँले बताउनुभयो । दैनिक सरदर दुई सय ५० जना नेपाली कामका लागि भारत जाने गरेको प्रमुख प्रहरी नायव निरीक्षक गिरीको भनाई छ ।

उहाँले कोरोनाको सङ्क्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका छन्,’

उहाँले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केही छुट गरिएको र वडा कार्यालयको सिफारिस र परिचय पत्र राखेर केही समयका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको बताउनुभयो ।

दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, सल्यान, रुकुमलगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय, जमुनहाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button