तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरमा आज ट्रक र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्याक्टर र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका–१ का २१ वर्षीय लालबाबु यादवको मृत्यु भएको हो ।

बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ४१६४ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना३त ६९३१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक यादवको उपचारका लागि हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक बारा परवानीपुर गाउँपालिका–१ कै १७ वर्षीय दिपेन्द्र कुमार मण्डल, ट्रकका चालक धनुषाको मिथिला नगरपालिका–५ का गंगाराम महतो र सहचालक सिराहाको कल्याणपुर नगरपालिका–८ का अभि साह घाइते भएका छन् ।

उनिहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button