तपाईँ सुन्दै हुनुहुन्छः

सीप आदानप्रदान गर्न खेतमै किसानको भेला 

बैतडी । व्यवसायिक तरकारी खेतीलाई अझै प्रभावकारी बनाउन र आफ्ना अनुभव र सीपहरु आदानप्रदान गर्नका लागि किसानहरु एकठाउँबाट अर्को ठाउँमा जाने गरेका दशरथचन्द नगरपालिकाका १ का किसान कृष्णबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आज मेरो बारीमा दशरथचन्द नगरपालिका वडा नं १ र २ का विभिन्न ठाउँका किसानहरु आए । मैले लगाएको तरकारीका बारेमा पनि जानकारी लिए । मैले पनि उनीहरुबाट केही सीप सिक्ने अवसर पाए ।’ सिप्रेडको समन्वयमा किसानहरु अनुभव आदानप्रदानका लागि एकठाउँबाट अर्को ठाउँमा जाने गरेका हुन् ।

तरकारी खेतीमा आवद्ध भएका किसानहरुलाई एक अर्को ठाउँको अनुभवले धेरै सिकाई हुने गरेको दशरथचन्द नगरपालिका २ थलाल गाउँका अगुवा किसान मोहनसिंह थलाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी पहिलादेखि नै व्यवसायिक तरकारी खेती गरिरहेका छौं । यसरी एक आपसमा अनुभव आदानप्रदान गर्न पाउँदा हामीलाई एक अर्काबाट सिकाइ हुन्छ र यसले सजिलो पनि हुने गरेको छ ।’ शनिबार दशरथचन्द नगरपालिका वडा नं १ का किसान कृष्णबहादुर बोहराको बारीमा पुगेर विभिन्न ठाउँका किसानहरुले अनुभव आदानप्रदान गरेका सिप्रेडका कार्यक्रम संयोजक भुवन भट्टले बताउनुभयो ।

किसानहरुलाई एकै ठाउँमा प्राविधिक ज्ञान र सीप दिने तथा उनीहरुलाई प्राविधिक सल्लाह दिनका लागि यो कार्यक्रम राख्ने गरिएको भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button