भीमापोखरामा गोठ भत्किदा एक जना बेपत्ता
बागलुङ । निरन्तरको वर्षाले गोठ भत्किदा बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा बास्कोटमा एक जना बेपत्ता भएका छन् ।
बास्कोटमा गोठमाथिबाट पहिरो खसेर गोठ पुरिँदा दुई भैसी मरेका छन् भने अन्दाजी ६० वर्षीय टेक बहादुर खाती सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बेपत्ता खातीको मोबाइल घटनास्थलमै फेला परेको छ । बुधवार साँझ गोठमाथि रहेको सडकबाट पहिरो खसेर गोठ पुरिएको वडा अध्यक्ष विद्यापति शर्माले बताउनुभयो ।
गए राती नै उद्धारका लागि अछेते प्रहरी चौकी र थप उद्धारका लागि प्रहरी निरीक्षक दिपक रिजाल नेतृत्वको टोली घटनास्थलमा पुगेपनि निरन्तरको वर्षाले खोजी कार्य प्रभावित भएपछि प्रहरी टोली फर्किएको छ ।
बेपत्ताको आज बिहानैबाट बेपत्ताको खोजी कार्य गर्ने भनिए पनि मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङ नगर खण्डको बोक्सोमा पहिरो गएर बाटो अवरुद्ध हुँदा टोली त्यसतर्फ जान नसकेको रेग्मीले जानकारी दिनुभयो । बाटो खुले लगत्तै उद्धार टोली त्यसतर्फ प्रस्थान गर्ने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्