पर्वतको देबिस्थानमा पहिरोको जोखिम

पर्वत । पर्वतको फलेवास ६ देबिस्थानमा पहिरोले बस्ती जोखिममा परेको छ । कालीगण्डकी कोरिडोरबाट पहिरो झर्न थालेपछि देबिस्थानको राहाले, फेदी र डण्डारेखोलासम्म करिब ९० घरधुरी पहिरोको जोखिममा परेका हुन् । बाक्लो बस्ती रहेको राहालेमा कोरिडोरबाट पहिरो झर्न थालेपछि स्थानीय राती छिमेकीको घरमा बस्दै आएको स्थानीय हीरामणि सापकोटाले बताउनुभयो ।
बस्तीमाथिबाट खनिएको कोरिडोरबाट पहिरो झर्न थालेपछि राती घरमा बस्न छोडेको सापकोटाले जानकारी दिनुभयो । पानीको उचित निकास नभएको र फलेवास नहर समेत फुटेर कोरिडोरबाट पहिरो झरेको उहाँले बताउनुभयो ।
भारतको सुनौली हुँदै चीनको सिमाना कोरोना नाकासम्म बिस्तार भइरहेको काली गण्डकी कोरिडोरको १४ किलोमिटर खण्ड फलेवास नगरपालिका भित्र पर्छ । गत वर्ष ट्र्याक खोलेर अलपत्र अवस्थामा रहेको कोरिडोर यो वर्षको वर्षामा पहिरोमा परिणत भएको फलेवास नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख पदमपाणी शर्माले अलपत्र अवस्थामा रहेको सडकलाई पूर्णता दिन वा पानीको उचित निकास दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले लोकमार्ग आयोजना कार्यालय पाल्पालाई पनि अनुरोध गर्दै आएको बताउनुभयो । नगरपालिकाले असुरक्षित रहेको बस्तीका बासिन्दालाई केही दिन सुरक्षित ठाउँमा बस्न अनुरोध गरेको शर्माले बताउनुभयो । अधिक वर्षा हुँदा फलेवासमा बस्ती पिच्छे पहिरोको जोखिम देखिएको छ ।
सात वटा बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सूचिमा सूचिकृत गरिएको नगरप्रमुख शर्माले बताउनुभयो । फलेवास ४ को एकघरे, सिर्सुवा, चुरी, शंकरपोखरीको पुर्कोट, रुग्दी, थापाठानाको दरदरे, कुर्घाको फल्ला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । सडक खन्ने क्रममा भएका लापरबाहीले धेरै ठाउँमा पहिरो आएको जानकारहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्