असोज १५ देखि खाडी मुलुकमा नियमित उडान हुने
काठमाडौं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरूमा पनि नियमित उडान सञ्चालन गर्ने भएको छ ।
सरकारले कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको हो । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो ।
ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ ।
उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्