तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिकको जीवनस्तर उकास्ने खालका कर्जा प्रवाह गर्न आग्रह’

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारी बैंकले तल्लो वर्गका नागरिकको जीवनस्तर उकास्ने खालका कर्जा प्रवाह गर्न सुझाव दिनु भएको छ ।

आज (आइतबार) सुर्खेतको वीरेन्द्रनगरमा रावाको नयाँ शाखाको उद्घाटन गर्दे मन्त्री ज्वालाले सबै क्षेत्रबाट पछाडि परेको कर्णाली प्रदेशको समृद्धिका लागि सरकारी, निजी बैंक तथा वित्तिय संस्थाहरुको पहुँच बृद्धि बढेसँगै आर्थिक गतिशीलता बढ्ने अपेक्षा राख्नुभयो ।

उहाँले नाफा कमाउनेमा मात्र नभई विश्वासिलो र भरपर्दो सेवा दिन तर्फ समेत बैकको बढी ध्यान जान आवश्यक रहेको औल्याउनुभयो ।

‘उत्पादन र उद्योग क्षेत्रका साना व्यवसायीलाई पनि प्राथमिकतामा राखेर ऋण प्रवाह गर्नुहोस,’ उहाँले भन्नुभयो, ‘जोखिम क्षेत्रमा लगानी नगर्ने परिपाटीको अन्त्य गर्दै नागरिकको जीवनस्तर माथि उकास्ने खालका कार्य रावा बैंकबाटै शुरुवात गर्न आवश्यक छ ।’

ग्राहकको अत्याधिक चाप बढेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बैंकले दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।

कर्णाली प्रदेशमा बैंकको यो १९औं शाखा हो भने देशभरका लागि २४१ औं शाखाको रुपमा स्थापना गरिएको छ ।

बैंकमा लकरसहितको सुविधाबाट समेत रहेको जानकारी गराउँदै राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश प्रमुख रामबहादुर थापाले अन्य बैंकको तुलनामा उत्कृष्ट, प्रभावकारी र जनमैत्री सेवा प्रवाह हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्र बैंक कर्णाली प्रमुख डा.शालिकराम पोखरेल, सुर्खेत शाखाका प्रमुख लिलाराम ढुंगाना, वीरेन्द्रनगर शाखाका प्रमुख जयप्रकाश बराल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button