तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधि सफल, चिकित्सकहरू उत्साहित

बाँके । भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका बिरामी र त्यसमा संलग्न चिकित्सकहरूमा उत्साह जगाएको छ ।

भेरी अस्पतालमा भर्ना भएका एक गम्भीर खालका कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी प्रयोग पश्चात् निको भएपछि चिकित्सकहरू उत्साहित भएका हुन् ।

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षीय प्रविण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका सर्वसाधारणमा एक किसिमको आशा पलाएको हो ।

उच्च ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १२ भदौमा नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा १३ भदौमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको निमोनिया भई स्वास्थ्य अवस्था झन्–झन् बिग्रँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो ।

उनी निको भएर आइतबार घर फर्किएका छन् । प्लाज्मा थेरापीबाट निको भएका केसीले आफूले पुनर्जीवन पाएको बताए । ‘अब जिन्दगी यति नै हो भन्ने लागेको थियो, तर, बाँचियो,’ डिस्चार्ज भएपछि केसीले भन्नुभयो , ‘मलाई दोस्रो जुनी दिने तपाइहरू मेरो भगवान् हो, मैले तपाईहरुको गुण कहिल्यै बिर्सिने छैन ।’

यसैबिच प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारी पनि हौसिएका छन् ।

‘प्लाज्मा थेरापी सफल भएकोमा हामी खुसी छौँ,’ भेरी अस्पतालमा स्थापना भएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा. खगेन्द्रजङ शाहले भन्नुभयो, ‘यसले अस्पताललाई मात्र नभई सिङ्गो पश्चिम क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ ।’

भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो केसमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । ‘प्लाज्मा विधि सफल भएको छ । सङ्क्रमणबाट मुक्त भएकाहरूलाई प्लाज्मा दान गर्न आह्वान गरेको डा. शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button