बाल दिवसमा प्रदेश १ स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता हुने
इलाम । बाल दिवसको अवसरमा भाद्र २९ गते प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएको छ ।
प्रतियोगिताको आयोजना मानव अधिकार मञ्च नेपाल इलामले गर्दै छ । भर्चुअल प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका एक÷ एक जना बालबालिकाले जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने तयारी भएको मञ्चले जनाएको छ ।
यस अघि प्रदेश १ का १४ वटै जिल्लामा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भई १४ जना प्रतिस्पर्धी छनौट भइसकेका छन् ।
जिल्ला स्तरीय प्रतियोगितामा दुई सय आठ जना सहभागी भएका थिए ।
प्रत्येक जिल्लामा भएको छनौट प्रतियोगितामा १८ वर्ष ननाघेका सबै विद्यालय विद्यार्थी मञ्चले प्रदेश १ मा सञ्चालन गरी रहेको बाल संरक्षणको लागि ऐक्यबद्धता परियोजना मार्फत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक रुद्र थेबेले बताउनुभयो ।
‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ ।
नेपाली भाषामा हुने प्रतियोगितामा प्रत्येक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । प्रतियोगिताको विजेताले पन्ध्र हजार , दोस्रोले दस हजार र तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुहुने कार्यक्रम तय भएको छ ।
कोरोना सङ्क्रमणको महामारीका बीच जुम एपमार्फत भर्चुअल प्रतियोगिता गरी बालबालिकालाई प्रविधि प्रयोग गर्न सिकाउँदै उनीहरूमा रहेको प्रतिभा पहिचान र प्रस्फुटन गर्न लागिएको मञ्चले जनाएको छ ।
महामारीसँगै बालबालिका बचाउ ,संरक्षण , विकास र सहभागिता सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको मञ्चका अध्यक्ष मोहन सिंह थेबेले बताउनुभयो ।
महामारीको बेला बालबालिकाले भोगेको समस्याहरू उनीहरूकै मुखबाट सरकारलाई सुनाएर सरकारलाई जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताउनुभयो । पत्रकार महासङ्घका प्रदेश १ का उपाध्यक्ष सोम सुशेलीले प्रतियोगिता सान्दर्भिक रहेको बताउनुभयो ।
उहाँले महामारीका बेला सबै उमेर समूहलाई अस्रर पुर्याइरहेका बेला बालबालिका बढी प्रभावित भइरहेकाले यो प्रतियोगिताले बालबालिकालाई सक्रिय बन्न सहयोग पुग्ने बताउनुभयो ।
पत्रकार महासङ्घ केन्द्रीय सदस्य सटेन्द्र जबेगुले महामारीले त्रसित बनाएको अवस्थामा बालबालिका लामो समय विद्यालय जान नपाई घरैमा बस्न बाध्य भएकोले मनोवैज्ञानिक असर पुगिरहेको अवस्थामा कार्यक्रम सृजनात्मक रहेको बताउनुभयो ।
यसबर्ष ‘बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता ’भन्ने मूल नारा तय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्