तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती क्षेत्रमा दुई वटा बिओपीको सेवा प्रारम्भ

कपिलवस्तु । कपिलवस्तुको भारतीय सीमावर्ती क्षेत्रमा दुई वटा विओपीको कार्यालय शुक्रवारदेखि सञ्चालनमा आएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले विजयनगर गाउँपालिका र कृष्णानगर नगरपालिकामा स्थापना भएको विओपीको उद्घाटन गर्नुभएको हो ।

डिआइजी प्रधानले जिल्लाको अति विकट नेपाल भारत सीमावर्ती विजयनगर गाउँपालिका ५, डालपुर र कृष्णनगर नगरपालिका ६, भिल्मीमा एकै दिन दुई वटा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी.सञ्चालनमा आएको छ ।

भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अवैध निकासी पैठारी, हातहतियार, लागू औषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले नागरिकको जीउधन रक्षा र सीमा सुरक्षामा सशस्त्रले ठुलो योगदान पुर्‍याएको चर्चा गर्दै पछिल्लो समय विश्वमा फैलिएको कोरोना भाइरसको बन्दाबन्दीका बेला सशस्त्रको भूमिका अहंम रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

अर्को नवनिर्मित भवन उद्घाटन कार्यक्रमका बिजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस विकट क्षेत्रमा वि.ओ.पी.को स्थापना भएकोमा खुसी व्यक्त गर्दै मानव बेचविचन रोक्न, अवैध धन्दा र सामाजिक विकृति न्यूनीकरणमा सशस्त्रको अहम भूमिका रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा वि.ओ.पी. डालपुरको भवन एक करोड ९६ लाख बढीको लागतमा निर्माण कार्य सम्पन्न भएको र वि.ओ.पी.भिल्मीको भवनमा ७५ लाख ९० हजार चार सय २३ रुपैयाँको लागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button