तपाईँ सुन्दै हुनुहुन्छः

भ्रममा नपर्न मेलम्ची नगरपालिकाको सार्वजनिक रूपमा आग्रह

सिन्धुपाल्चोक । कार्यालयभित्रै मदिरा पान भन्दै सामाजिक सञ्जालमा तथा केही सञ्चारमाध्यममा समाचार छाएपछि मेलम्ची नगरपालिकाले विज्ञप्ति जारी गर्दै वास्तविकता नबुझी भ्रममा नपर्न सार्वजनिक रूपमा आग्रह गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै मेलम्ची नगरपालिकाले २३ भदौको साँझ अफिसियल कामकै लागी कर्मचारीहरू अबेरसम्म कार्यालयमा बसेको प्रस्टाएको छ ।

चालु आर्थिक वर्षको लागी स्वीकृत ५ योजना कार्यान्वयनका लागी बोलपत्र सम्बन्धी कागजात तयार गरी विद्युतीय खरिद प्रणालमिा अपलोड गर्नका लागी कर्मचारीहरू अबेरसम्म खटिएको र उक्त समयमा आफूलाई युट्युबर बताउने दुई व्यक्तिहरू आई जबरजस्ती भिडियो खिचेको मेलम्ची नगरपालिकाले जनाएको छ । ‘किन रातिसम्म कार्यालयमा बसेको? भन्दै दुई व्यक्ति आएको र भिडियो खिचेर लगेको विज्ञप्तिमा भनिएको छ ।

यसबारे यथार्थता बुझ्नका लागी आन्तरिक प्रक्रिया सुरु गरिएको र कर्मचारीको गल्ती देखिए कारबाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले बताउनुभयो । ‘यसबारे हामी आन्तरिक रूपमा यथार्थ बुझ्दै छौँ, यथार्थ नबुझी नकारात्मक टीकाटिप्पणी नगर्नुहुन नगरवासीमा आग्रह छ’, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भन्नुभयो, ‘रात साँझ काममा खटिँदै आएका कर्मचारीको मनोबल गिराउने काम कसैले पनि नगरौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button