तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्सामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा बारा, पर्साका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि हुनेमा चार महिलासहित पर्साका छ जना र बाराका १२ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सा र बारा जिल्लाका विभिन्न स्थानबाट संकलन गरी ल्याइएका पाँच सय ८० जनाको थ्रोट स्वाबलाई नारायणी अस्पतालको प्रयोशालामा गरिएको परिक्षणको क्रममा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका सङ्क्रमित मध्ये दुई महिला र एक पुरुष गरी तीन जना नबिल बैंक वीरगञ्ज शाखाका कर्मचारी रहेका छन् भने पर्सागढी नगरपालिका वडा नम्बर ४ एक महिला र एक पुरुषसहित दुई जना र ठेगाना नखुलेको पर्सागढीकै थप एक जना पुरुष गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

त्यसैगरी बारा जिल्लामा नेपाली सेनाका तीन जना र नेपाल प्रहरीका तीन जनासहित १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जितपुर आर्मी ब्यारेकका तीन जना पुरुष सैनिक र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत तीन जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button