आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्
दमौली-तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन ।
मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उहाँले गुनासो गर्नुभयो । उहाँले कसैले ३५÷४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताउनुभयो । कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बस्नुभयो । दिनभर लाइनमा बस्दा पनि उहाँले मल पाउनुभएन ।
केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उहाँको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भन्नुभयो, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उहाँलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “
अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उहाँले प्रश्न गर्नुभयो । कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताउनुभयो । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उहाँको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताउनुभयो । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उहाँले भन्नुभयो ।
दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।” प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।








प्रतिक्रिया राख्नुहोस्