असिना तथा हावाहुरी पीडितलाई सरकारद्वारा जस्तापाता प्रदान

जनकपुरधाम । धनुषाका असिनापानी र हावाहुरीबाट पीडित भएर घरबार विहिन भएकाहरुलाई नेपाल सरकारले जस्तापाता प्रदान गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समिति धनुषाले उपलब्ध गराइएको जस्तापाता मिथिला नगरपालिका र बटेश्वर गाँउपालिकाको प्रभावितहरुलाई प्रदान गरिएको छ ।
सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता सहित पूर्वमन्त्री एवं नेकपाका स्थाई कमिटी सदस्य समेत रहेका रघुवीर महासेठ, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रमप्रसाद भट्टराई, प्रदेश सभाका सदस्य शत्रुधन महतो सहतकाले जस्ता पाताहरु वितरण गर्नु भएको छ ।

गत बैशाख १२ गते आएको असिनापानी र हावाहुरीबाट पुर्णरुपले क्षतिग्रस्त भएका २ हजार १ सय ४४ प्रभावित घरपरिवारलाई प्रतिघर २ ब्यान्डल अर्थात २४ पिसको दरले जस्तापाता उपलब्ध गराएको छ । गृहमन्त्रालयले छुटयाएको ४ करोडको लागतमा धनुषा स्थित जिल्ला विपद व्यवस्थापन समितिले सो जस्ता उपलब्ध गराएको छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सो क्षेत्रका सांसद महासेठले आफु सहयोगका लागि समयमै पहल गरेको भएपनि प्राविधिक कारणवस केहि ढिलाई भएपछि पीडितले राहत पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

प्रदेश साँसद शत्रुधन महतोले असिनापानी तथा हावाहुरीका कारणले निक्कै पीडित बनेको यस जनतालार्ई केन्द्र सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराई, नेपाल प्रहरी धनुषा प्रमुख एसपी रमेश बस्नेत, सशस्त्र प्रहरी प्रमुख एसपी नरेन्द्र सेन, मिथिला नगरपालिकाका प्रमुख हरि नारायण महतो, बटेश्वर गाँउपालिकाको अध्यक्ष डम्बर बहादुर राउत, मिथिला बिहारी नगरपालिकाको मेयर अनिल कुमार यादव लगायतका नेताहरुको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्