ढोरपाटन बाढीपहिरो : ११ जनाको शव भेटियो, ३० बढी बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ ।
गए राति परेको अविरल वर्षाको कारण ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ भूजिखोलाको शिर देउरालीमा ठुलो पहिरो जाँदा ३१ भन्दा बढी घरमा पूर्ण क्षति भएको छ भने ३० जना भन्दा बढी बेपत्ता भएका छन् ।
ढोरपाटन उपत्यका छिर्ने नाका देउराली भन्ने स्थानमा पहिरो गएको हो । देउराली भुजी खोलाको मुहान पर्दछ । सोही स्थानवाट पहिरोले भुजिखोला किनारका वस्ती वगाउँदै झरेको हो। त्यहाँ वगाएका शवहरू ४५ किलोमिटर तल पनि भेटिएका छन् ।
बागलुङ कै ढोरपाटन नगरपालिकाको विभिन्न भाग, बडिगाड गाउँपालिकाको विभिन्न भाग र गुल्मीको मुसिकोट नगरपालिकाका केही स्थानमा समेत शव भेटिरहेको बताइएको छ ।

फेला परेका शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुनसकिरहेको छैन । अहिलेसम्म ढोरपाटन नगरपालिका वडा नं. ९ को वर्ष २६ को केशमाया विकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । ४ जना घाइतेको उद्धार गरिएको छ ।

यस्तै बाढीले लाकुरीबोटमा १५ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर, बगाएको छ । सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साबिक बोवाङमा रहेको ३ वटा जलविद्युत योजना, ३ वटा झोलुङ्गे पुल पनि बगाएको छ । अहिले उद्धार र क्षतिको विवरण सङ्कलन भइरहेको घटना स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकाएका प्रमुखहरू घटना स्थल नजिकै पुगेको जानकारी प्राप्त भएको छ । काठमाडौँबाट गृहमन्त्री राम बहादुर थापा, सांसद देवेन्द्र पौडेल सहितको टोली घटनास्थल तर्फ आइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । घटनास्थल सदरमुकामबाट १ सय १५ किलोमिटर पश्चिममा पर्दछ ।

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला, बाँकी २५ जना अझै सम्पर्कविहीन
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिनुभयो । भटिएका शवमा ८ पुरुष र ३ महिला रहेका छन् ।
घटनास्थलमा फेला परेका कसैको पनि पहिचान भइनसकेको प्रहरीले बताएको छ ।
बाढीमा परी ३६ जना बेपत्ता भएको इन्स्पेक्टर भण्डारीले बताउनुभयो । बाढीले झन्डै ५० देखि ५५ घर बगाएको भण्डारीले बताउनुभयो । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।








प्रतिक्रिया राख्नुहोस्