सिन्धुपाल्चोकमा लकडाउन भदौ १७ गतेसम्म थप
सिन्धुपाल्चोक । कोरोना संक्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि १७ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन थप गर्ने निर्णय गरिएको थियो ।
त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।
कोरोनाको कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ९९ जना सङक्रमित पुगेका छन् ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।
त्यस्तै सरकारी तथा गैर सरकारी कार्यालयमा आवश्यक मात्रामा कर्मचारी राखेर काम गर्न र अनावश्यक काठमाँडौ जाउ आउ नगर्न बैठकले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्