तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्जमा थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परिक्षणकोक्रममा आज थप पर्सा, बारा, रौतहट र सर्लाहीका ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा सङ्क्रमण देखिएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

प्रयोगशालामा ३ सय ८ वटा स्वाबको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाका अनुसार पर्साको कालिकामाई गाउँपालिकाको वडा नं। २ भेडिहारीका २ जना, पर्सागढी नगरपालिकाको वडा नं। ८ हरपुरमा एक जना, वीरगञ्ज महानगरपालिकाको वडा नं। ११, १२, १३, २१, २७ लगायतका विभिन्न वडामा थप सङ्क्रमितहरू फेला परेका छन् ।

अहिले वीरगञ्जमा सञ्चालित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक र वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३७ जना महिला सहित १ सय ३१ जना कोरोना सङ्क्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आइसियुमा छन् । हिजो ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ ।

कोभिड अस्पताल गण्डकमा १ जना महिलासहित ९ जना आइसियुमा रहेका छन् । जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले गम्भीर अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button