तपाईँ सुन्दै हुनुहुन्छः

छ वर्षमा पनि भेटिएनन् हत्यारा

बागलुङ-वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ ।

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो । हत्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ । गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन । घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ ।

हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन । जिल्लामा नयाँ आउने प्रहरी प्रमुखले अनुसन्धानलाई टुङ्गोमा पु¥याउने र दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिने गरेपनि त्यो त्यतिमै सिमित बन्न पुगेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्याराको नजिक पुगेको बताउनुभयो ।

उहाँले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । तर, सरुवापछि जिल्ला छाडेर जाँदा उहाँले ‘रुपा हत्या काण्ड’का दोषी पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गर्नुभएको थियो । त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो ।

त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ । वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हाँसिल नभएको बताउनुभयो ।

हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ । घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । घटनाको प्रकृति हेरेपछि पेसेवर अपराधीबाटै गौतमको हत्या भएको निचोडमा प्रहरी पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button