कालिज पालनमा दुई करोड लगानी
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका ८ मा कालिज र कुखुरापालन शुरु गरिएको छ । कुश्माका मनोज पौडेल र चन्द्र पौडेल क्षेत्रीको दम्पत्तीले दुई करोड लगानीमा यो नयाँ र नौलो व्यवसाय शुरु गरेका हुन् ।
बनमा मात्रै पाईने कालिजको बजार माग राम्रो रहेकोले पौडेल दम्पत्तीले व्यवसायमा लगानी गरेको बताएका छन् । ‘एमसी वाइल्ड लाइफ, एग्रो एण्ड रिर्सच सेन्टर’ नामक फर्म स्थापना गरी स्थापना भएको फर्मबाट व्यवासायिक उत्पादन शुरु भएको छ ।
सञ्चालकका अनुसार फार्ममा गत वर्ष १ सय ५० कालिजका चल्ला तथा लोकल कुखुरा, कडकनाथ, लौकाट, टर्की गरी १ हजार चल्ला ल्याएर पालन शुरु गरिएको थियो । राजमार्ग नजिक र बजारको समस्या नभएपछि यस वर्ष फर्म बिस्तार भएको छ ।
यस वर्ष ८ सय भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ । यस वर्ष मात्रै ५ हजार कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना रहेको सञ्चालक चन्द्रा पौडेल क्षेत्रीले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गसँगै फर्म रहेको हुनाले यहाँबाट यात्रा गर्नेहरुले पनि कालिज र स्थानीय जातका कुखुरा खरिद गरेर लैजाने गरेका छन् । बनजंगलमा पाईने कालिज हिजोआज शिकारीले मार्दै गएपछि लोप हुन थालेका छन् ।
कहिँकतै भेटिए पनि मार्न सजिलो छैन । सरकारले चीर कालिजलाई संरक्षित पंक्षीको सूचीमा राखेपछी मार्न प्रतिबन्द छ । कालिजका पारखीहरुलाई फर्ममा पालन गरेको कालिज ख्वाउने र व्यवसाय पनि फस्टाउने सोचेर पौडेल दम्पत्ती हार्डवेयर पसल संगै कालिजपालनमा लागेको सुनाउँछन् ।
पौडेल दम्पत्तीको हार्डवेयर पसल लकडाउन भरि बन्द भए पनि कालिज फर्म भने बन्द भएन । लकडाउनमा बाहिरी जिल्लाबाट कुखुराको आपुर्ती नहुँदा आफ्नो फर्मले माग धान्नै समस्या भएको सञ्चालक मनोजले सुनाउनुभयो ।
यो फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरा देखि मुस्ताङ्ग सम्म पुगेका छन । फर्म अगाडी होटल र फ्रेस हाउस समेत सञ्चालन भएकाले जिउँदो किन्ने देखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटल समेत सञ्चालनमा छ ।
फर्ममा उत्पादित कालिज, कडकनाथ, लौकाट, लोकल कुखुरा र मोदीको असला माछा समेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।








प्रतिक्रिया राख्नुहोस्