बजार र संस्थानमा सकियो खाद्यान्न
मुगु । मुगुमा खाद्य गोदाम रित्तिएपछि उपभोक्तालाई चामल पाउन मुश्किल हुन थालेको छ ।
गमगढीमा रहेको मुख्य खाद्य गोदाम सहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालै लगायत खाद्य डिपोहरु पनि खाली भएका छन् ।
गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भई सकिएको र यो चालु आर्थिक वर्षको चामल ढुवानीको लागि ठेक्का प्रक्रियामै रहेको हुदा जिल्लाभरीका खाद्य डिपो देखि बिक्री केन्द्रमा खाद्यान्न सकिएका छन ।
गमगढी खाद्य गोदाम ५ सय क्वीन्टल चामल आपत्तकालिनको लागि जगेडा राखेको र सबै डिपोमा चामल नभएको खाद्य ब्याबस्थापन तथा ब्यापार कम्पनी लिमिटेड मुगु शाखा प्रमुख कर्णबहादुर रावलले बताउनु भयो ।
लक डाउनका बेला स्थानीय सरकारहरुले राहत स्वरुप वितरण गरेको चामल लिमिटेडबाटै लगेको र बाहिर जिल्ला तथा भारत र अन्य मुलुकमा रहेका मुगाली यो अबधीमा जिल्ला भित्रीएकाले चामल विक्री वितरण बढेर अभाव भएको उहाँले बताउनु भयो ।
राहत वितरण गर्दा जिल्लामा रहेका चार वटा स्थानीय सरकारहरुले लिमिटेडका विक्री केन्द्र, डिपो तथा शाखाबाट १० हजार १ सय १९ दशमलव ४५ क्वीन्टल चामल खरिद गरेका थिए ।
चामल छिटो आपूर्तीको व्यवस्थाका लागि क्षेत्रिय कार्यालयमा पत्रचार गरिसकेको प्रमुख रावलले भन्नुभयो ।
गमगढी क्षेत्रमा १० हजार क्वीन्टल, सोरुकोट डिपोमा २२ सय क्वीन्टल, पूलु डिपोमा १२ सय क्वीन्टल, श्रीकोटमा १२ सय र रातापानीमा ८ सय क्वीन्टल वार्षिक खाद्य कोटा रहेको खाद्य व्यावस्थापन तथा ब्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
यो चालु आर्थिक वर्ष गमगढी क्षेत्रको लागि मात्र ११ हजार क्वीन्टल चामल माग गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्