तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा भन्सार र राजश्व कार्यालयमा लक्ष्यभन्दा धेरै राजश्व असुली

टीकापुर कैलाली । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् ।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउनको राजश्व लक्ष्य भन्दा पाच सय ७५ प्रतिशत बढी असूली भएको छ ।

सत्ती भन्सारले साउनका लागि ३६ लाख ३९ हजार रुपैया राजश्व उठाउने लक्ष्य राखेमा दुई करोड नौ लाख १४ हजार रुपैया संकलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

भन्सार अधिकृत चौरसियाले भन्सार छली, चोरी पैठारी कम भएको बताउदै दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व संकलन बढेको बताउनुभयो ।

दुई वर्ष अघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्ष भरीमा ५ करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष छ करोड सात लाखको लक्ष्य राखेको छ ।

यसपटक कपडा, मोटर पार्टस र हार्डवेयरका सामान धेरै आएकाले राजश्व बढेको र प्रहरी प्रशासनको यस्तै सहयोग रहेमा तीन महिना मै वार्षिक लक्ष्य पूरा हुने भन्सार अधिकृत चौरसियाको भनाई छ ।

कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्य भन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा ५८ करोड रुपैया उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

लामो समय लकडाउनले गर्दा रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उहाले बताउनु भयोे । यो अवधिमा चामल, गहु“, पापड भुजिया, दालमोठ जस्ता खाद्य बस्तुको अयात धेरै भएको छ ।

यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्य भन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ । साउनका लागि ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा ६९ करोड ५२ लाख ७८ हजार रुपैया राजश्व संकलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button