कोरोना समुदायमा फैलिन सक्ने भन्दै सङ्क्रमितको गाउनै सिल

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका ६, क्लब चोक घर भएका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भए सङ्गै सो गाउँ आजबाट सिल गरिएको छ । नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौँमा कार्यरत ३० वर्षीय प्रहरी रेशमराज भट्टलाई कोरोना संक्रमण देखिए पछि सो गाउँको रेडक्रस स्कुल चोकदेखि क्लब चोक सम्म र आसपासका क्षेत्रमा सिल गरिएको प्रहरी चौकी, खोले सिमलका प्रहरी नायब निरीक्षक (सई) सलिकग्राम पौडेलले जानकारी दिए ।
सङ्क्रमित भट्ट सङ्ग सम्पर्क भएका उनका साथी, आफन्त र गाउँले ३१ जनाको आजै कनट्र्याक्ट ट्रेसिङ भएको कालिका नगरपालिका, जनस्वास्थ्य प्रमुख दिपक भण्डारीले जानकारी दिए । उनका बुबाले काम गर्ने रत्न नगर १५ को माधवपुर स्थित ढकाल फर्निचर उद्योग र उनको ससुराली भरतपुर १६ बिजयनगर, ढड्डाघारी क्षेत्रमा पनि कनट्र्याक्ट ट्रेसिङ र सचेतनाको लागि जनस्वास्थ्य कार्यालय मार्फत जानकारी गराइएको भण्डारीले जानकारी दिए । कालिकाको सो गाउँ रेडक्रस स्कुल चोकदेखि क्लब चोक सम्म र आसपासका क्षेत्रमा हिँडडुल नगर्न र सबै कोरोना बारे सचेत रहन अनुरोध गरिएको कालिका नगरपालिका ६ का वडा सदस्य दशरथ सापकोटाले जानकारी दिए ।
कोरोना सङ्क्रमित भट्ट गत साउन २९ गते घर आएका उनी भदौ ३ गते बुधवार कार्यालय पुगेका थिए । ४ दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनु भन्दा अगाडि कोरोना परिक्षण गर्ने क्रममा हिजो कोरोना संक्रमण पुष्टि भएको उनले टेलिफोनमा बताए । गत साउन ७ गते पनि कोरोना परिक्षण गरेकोमा सो समयमा भने कोरोना नेगेटिभ आएको थियो, उनले भने । उनले टेकु प्रयोगशालामा आफ्नो स्वाब परिक्षण गरिएको बताएका छन् ।
हाल उनी वीरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन् । आफ्नो स्वास्थ्य भने सामान्य रहेको भट्टले बताए । गत असार १४ गते विवाह गरेका भट्टको श्रीमती गत भदौ १ गते भरतपुर १६ बिजयनगर गएकोमा श्रीमानलाई कोरोना पुष्टि भएको थाहा पाई हिजो बिहीबार घर फर्किएका छन् । भट्टलाई कोरोना पुष्टि भए सङै स्थानीय हरुले कोरोना समुदायमा फैलिएको आशङ्का गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्