स्नातकोत्तर हासिल गरेका लामिछाने कृषि पेशामा रमाउँदै
पर्वत । स्वास्थ्य शिक्षामा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका पर्वतको कुश्मा नगरपालिका वाड नं. ९ कटुवा चौपारीका बिदुर लामिछाने अहिले कृर्षि पेशामा रमाएका छन् ।
माध्यमिक तहको शिक्षा हासिल गरे पछि उच्च शिक्षा अध्ययन गर्नका लागि बिदेसिने चलन बढ्दो छ । नेपालको राजनीतिक अवस्था बढ्दो बेरोजगारीको समस्याले गर्दा पनि पढाइको सिलसिलामा बिदेसिएकाहरू पढाई सकिएपछि पनि विदेशमा नै भुल्ने गरेका छन्, तर लामिछाने भने आफूले स्नातकोत्तर अध्ययन गरेको प्रमाण पत्र घरमा नै राखेर कृषि क्षेत्रमा रमाएका छन् ।
हाम्रो देशको अवस्था देखेर पनि स्नातकोत्तर अध्ययन गरेको तपाईँ किन कृषि पेशामा दिगो भविष्य खोज्नुभयो भन्ने हाम्रो प्रश्नमा लामिछाने भन्छन्–‘आफ्ना बाबा आमा कृषक भएको र हाम्रो देश पनि कृर्षि प्रधान भएको हुँदा मैले विदेशी मोह त्यागेर आफ्नै देशमा आफ्नो दिगो भविष्य कृर्षि पेशामा खोजेको हु ।’ लामिछानेले आफ्नो पढाई पुरा गरे पछि साथीहरू विदेश, जागिर भन्दै दौडिँदै गर्दा उनी भने आफ्नो बाबाले गरेको फर्निचर व्यवसायमा सघाउन र सफल व्यवसायीको रूपमा स्थापित हुनका लागि गाउँमा नै फर्केका थिए । २०६५÷०६६ सालमा सुरु गरेको फर्निचर व्यवसाय सँगै पशुपालन तर्फ पनि आकर्षित भए ।

उनको फार्ममा प्रस्थान गरेपछि केही बेर मनोरम दृश्य हेरीरहु जस्तै जो कोहीलाई पनि लाग्ने गर्छ । कुखुराको चिरबिर, नजिकै माछा पोखरी सँगैका हाइटेक टनेलको लस्करमा देखिने हिमाली दृश्य साँच्चिकै मनमोहक देखिन्छ लामिछानेको कृर्षि फर्म ।
बाबाले गरेको व्यवसायमा पनि लामिछानेले सघाउँदै एकपछि अर्को माछा,पशुपालन, पोल्टी फर्म सँगै टमाटर र मौसमी तथा बेमौसमी तरकारी उत्पादनको लागि १३ रोपनी जग्गामा व्यवसाय गरेका छन् । ‘मैले शिक्षामा स्नातकोत्तर गरे पनि कुनै पनि काम गर्न सरम नमान्ने भएको हुँदा र अरूको काम गरेर दास बन्नु भन्दा आफै मालिक बन्नु पर्छ भन्ने बिचारले मैले यो पेसा अँगालेको हु ।’ लामिछानेले भन्छन् – नेपाली दाजुभाइ दिदीबहिनीहरू अर्काकोमा जागिर गर्दा ठुलो हुने र आफै केही न केही गर्न हिचकिचाउने स्वभावको हुनुहुन्छ, त्यसैले जस्तो सुकै भए पनि आफै उद्यमी आफै मालिक हुने सोच राखेर अघि बढ्न आग्रह गर्छु । गर्न सके नेपालमा नै जापान, कोरिया, अमेरिकामा कमाउने जति आय आर्जन गर्न सकिने बताउँदै त्यसको उदाहरण को पात्राका रूपमा आफैलाई हेर्न समेत भन्छन् । उनी बिहान सबेरै देखि आफ्नो फर्ममा नै व्यस्त हुन्छन् उनले ४ जनालाई रोजगारी समेत दिएका छन् । टनेल, पोल्टी फर्म, माछा पालन र यातायातको साधन खरिदमा १ करोड ५० लाख भन्दा बढी लगानी गरेको लामिछानेको भनाई छ । उनले बार्षिक आम्दानी सम्पूर्ण खर्च कटाएर ८ लाख बचत गर्न सकेको बताए ।

हजुरको जस्तै पेशामा आउन चाहनेहरूलाई हजुरको सुझाव के छ भन्ने अर्को प्रश्नमा उनले भने केही गर्छु भन्ने दिगो सोचका साथ हजुरहरू व्यवसाय गर्नुस् । कृर्षिकर्ममा गरेको दुखको बिचार नगरी पाएको सफलता मात्र देखेर मात्र यो क्षेत्रमा हाम फाल्नेहरूको लहर भएको हुँदा त्यस्ता खाले किसान छोटो समयमा नै पलायन भएको सुनाउँदै त्यसरी हात नहाल्न सुझाव दिन्छन् । मेरो स्तरले यो काम गर्न सुहाउँदैन भन्ने सोचलाई पूर्ण रूपमा त्यागेर सानो व्यवसायको सुरुवात गर्दै ठुलो सपना नदेखी अगाडी बढ्न प्रेरित गर्छु साथै अर्काको देखेर दीर्घकालीन सोचका साथ नआएमा यो पेशामा सफलता प्राप्त गर्न नसकिने लामिछाने बत्ताउँछन् । हाम्रो नेपाली समाज कसैले केही राम्रो गर्न खोज्यो भने उसको बिगार्ने भत्काउने थुप्रै देखेको र आफू पनि त्यस्तै जमातको फेला परेको हुँदा त्यस्ताको कुरा सुन्न नहुने बताए ।

लामिछानेले व्यवसाय सुरु गरे देखि अहिले सम्म कुनै पनि खालको सरकारले प्रदान गर्ने अनुदान नपाएको बत्ताउँछन् । अनुदान पाउनकै लागि व्यवसाय गर्नेहरू र पहुँचको भरमा त्यस्ता खालका कार्यक्रम पारेर अनुदान पाएपछि व्यवसाय छोड्नेहरू भएकाले वास्तविक किसानहरू मर्कामा परेको उनले बताए । काम गर्ने कालु र मकै खाने भालुजस्तै हुँदा सरकारले अनुगमन लाई कापीमा मात्र सीमित गर्दा दुख लागेको समेत गुनासो गरेका छन् ।









प्रतिक्रिया राख्नुहोस्