दमकसहित झापाको चार वटा स्थानीय तहमा एक साता लकडाउन

झापा । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि आजदेखि झापाको दमक नगरपालिकाले एक साता लामो लकडाउनको घोषणा गरेको छ ।
लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरूको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आइरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लामो लकडाउन गरेको हो ।
दुई दिन अघि दमकमा एकैसाथ छ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै सम्भावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बिहानको समयमा दुई घण्टा दूध डेरी, आपत्कालीन औषधिलगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित सम्बन्धित सरकारी अधिकारीहरू निस्किसकेका छन् ।
दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चिया दोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधनहरू फ्याटफूटट सञ्चालनमा छन् ।
बजार क्षेत्रमा पसलहरू ठप्प छन् भने अत्यावश्यक सेवाका साधनहरू मात्रै चलिरहेका छन् ।
दमक उद्योग वाणिज्य सङ्घ आफैले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लकडाउन गर्न सुझाव दिँदै पसल व्यवसाय बन्द गर्ने हिजो शनिवार नै निर्णय गरेको थियो ।
दमकसहित झापाका मेचीनगर, बुद्ध शान्ति र कमल गाउँपालिका गरी चार वटा स्थानीय तहले समेत आ–आफ्ना ठाउँमा एक साता लामो लकडाउन गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्