भाडाको जग्गामा गरिएको कृषिबाट लाखौँ लगानी

गलकोट- म्याग्दी जिल्लाको बेनी नगरपािलका–९ काउलेगैँडा निवासी सरु बस्नेत ८ वर्षदेखि बागलुङमा हुनुहुन्छ । परिवारसहित आठ वर्षपहिले बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि आठ वर्ष नै भयो ।
एउटी महिला, म्याग्दीदेखि बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, सरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए । घर छोडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान् श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको सरुको भनाइ छ । सरुलाई उहाँका श्रीमान् योगेन्द्र बस्नेतले हरेक काममा सघाउनु हुन्छ । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गर्नुभएको छ ।
विसं २०६९ बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी थाल्नुभएका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयवसीको २० रोपनी जग्गा भाडामा लिनुभएको छ । भाडाको जग्गामा १५ वटा टनेल र केही खुला रुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको सरुले बताउनुभयो । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भन्नुभयो, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडामात्र वार्षिक दुई लाख तिर्नु पर्छ ।
बस्नेतको तरकारी फर्ममा हाल सात हाइटेक टनेल र आठवटा परम्परागत टर्नेलमा बेमौसमी टमाटर, धनियाँ, साग, घिराँैला र करेला रहेका छन् । “अहिले भर्खरै सिमि र बोडीलगायतका तरकारी बेचेर सकिएको छ”, बस्नेतले भन्नुभयो, “बन्दाबन्दीको समयमा भने बजारमा लैजान नसक्दा धेरै तरकारी कुहिएर गयो ।” बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक रु १० देखि १२ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
तरकारी व्यवसायमा विचौलियाको अन्त्य हुनपर्ने उहाँको धारणा छ । “हामीले वर्षभरि मिहिनेत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भन्नुभयो, “यहाँ बाट ५० रुपैयाँमा खरिद गरेको तरकारी बजार पुग्दा रु १५० पुग्छ, विचौलियाले एकै दिनमा एक सय कमाउँछ ।” विचौलियाका कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उहाँको भनाइ छ । उहाँले परम्परागत टनेलमा भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
“तरकारीका साथसाथै बस्नेत दम्पतीले बाख्रा पनि पालन गरेका छन् । अलि पहिलेसम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर आजभोलि १० वटामात्रै रहेका छन्”, योगेन्द्रले भन्नुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्नका लागि चार लाख अनुदान प्राप्त गरेको सरुले बताउनुभयो । उहाँले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरू कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताउनुभयो ।
तरकारी फर्ममा हालसम्म ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ । बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उहाँको गुनासो रहेको छ । उहाँले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गर्नुभएको छ । उत्पादन भएको बिरुवा पुनः फर्ममै लगाइने गरेको छ । लाखौँ रुपैयाँ खर्चेर वैदेशिक रोजगारमा गएका गाउँका अन्य युवा अहिले बस्नेत दम्पतीको मिहेनत र कमाइबाट उत्प्रेरित भई आफूहरु पनि गाउँघरमै बसेर केही व्यवसाय गर्ने सोचमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्