तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणको जोखिम बढेपछि सिन्धुपाल्चोकमा शुक्रवारदेखि थप कडाइ

सिन्धुपाल्चोक । लकडाउन खुकुलो भएसँगै राजधानी र आसपासमा कोरोना सङ्क्रमणको दर बढेपछि सरकारले थप कडाइ गर्ने भएको छ ।

सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई थप कडाइ गर्न पत्र पठाएको छ ।

मन्त्रालयको पत्र पश्चात् बिहीबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन संयन्त्रको बैठकले जिल्लाका बजार र राजमार्गमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको अवस्था मध्यनजर गरी स्थानीय तहले नै लकडाउन वा अन्य उपाय अवलम्बन गर्ने र त्यसका लागि जिल्ला प्रशासनले सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

संक्रमण फैलन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारी कार्यालयहरूले विभागीय मन्त्रालयसँगको समन्वयमा स्थगित गर्न मिल्ने सेवालाई केही दिनका लागि स्थगित गरी कार्यालय सुचारु गर्ने निर्णय गरेको छ । आकस्मिक बाहेक सेवा बन्द गर्ने पनि निर्णय गरेको छ ।

जिल्ला स्तरीय संयन्त्रको निर्णय अनुसार शुक्रवारबाट होटल, रेस्टुरेन्टले ‘टेक–वे’ को मात्र सेवा दिन पाउनेछन् । सैलुन , पार्लर जस्ता पसल खोल्न पाइने छैन । शैक्षिक संस्थाहरू खोल्न पाइनेछैन । सभा समारोह, गोष्ठी र सेमिनारहरू आयोजना गर्न नपाइने भएको छ । समूहमा हुने खेलकुद, धार्मिक तथा सामाजिक स्थलमा भिडभाड गर्न पाइने छैन । धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य क्रियाकलाप नगर्न समेत अनुरोध गरिएको छ ।

स्वास्थ्य सुरक्षा जोखिमलाई मध्यनजर गरी परिवारका सदस्यहरू मात्र बसेर घरभित्रै चाडपर्व मनाउन प्रशासनले सिन्धुवासीलाई आग्रह गरेको छ ।

‘सङ्क्रमणको सम्भावना बढेपछि थप कडाइ गर्ने निर्णय गरेका छौँ, मन्त्रालयको पत्र आएपछि शुक्रवारबाट थप कडाइ गर्ने निर्णय लियौँ’, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भन्नुभयो ।

अत्यावश्यक काममा निस्कँदा व्यक्तिगत सुरक्षा सावधानीका उपाय अनिवार्य अवलम्बन गर्न पनि जिल्ला प्रशासनले जन साधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button