ठुलो परिमाणमा निलो बट्टाको रेडबुल बरामद

भद्रपुर, झापा । सीमा सिल भए पनि भारतबाट तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले बुधवार ठुलो परिमाणमा निलो बट्टाको रेडबुल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरी टोलीले बिर्तामोड बस पार्कबाट दुई वटा मारुती भ्यानसहित एक सय १३ कार्टुन रेडबुल बरामद गरेको हो ।
इलामको पशुपतिनगर र छब्बीसे नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको रेडबुलका कार्टुन मे१ज ३१४७ र मे १ ज २४१५ नम्बरको मारुती भ्यानमा लोड गरी झापा ल्याइएको प्रहरीको भनाइ छ ।
दुई वटा मारुती भ्यानसहित बरामद गरिएको रेडबुलको कार्टुनहरूलाई सादा पोसाकको सशस्त्रले सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पलाई जिम्मा लगाएर फर्किएको बताइएको छ ।
नियन्त्रणमा लिइएको भ्यानमा एक सय १३ कार्टुन रेडबुल रहेको र एउटा कार्टुनभित्र २४ पिस देखिएको सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका डिएसपी वीरेन्द्र खनालले जानकारी दिनुभयो । ‘पशुपतिनगर नाकाबाट रेडबुल ल्याएको हो, यो नेपालमा प्रतिबन्धित पनि हो,’ उहाँले भन्नुभयो ।’
नियन्त्रणमा लिएका दुई वटा भ्यानका चालक पशुपतिनगरका २८ वर्षीय सञ्जय गुरुङ र सोही स्थानका २२ वर्षीय अनुपम थानी रहेका छन् ।
भ्यानसहित बरामद रेडबुल मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको शनिश्चरे बेस क्याम्पका डीएसपी वीरेन्द्र खनालले बताउनुभयो ।
रेडबुलको मूल्य चार लाख ७७ हजार तोकिएको छ








प्रतिक्रिया राख्नुहोस्