तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन खुलेपनि तानसेन बजार सुनसान, व्यवसायी चिन्तित

पाल्पा- लकडाउन खुलेपनि पाल्पा सदरमुकाम तानसेनमा व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् । तानसेनको क्याम्पसरोडमा रहेको जनसेवा पुस्तक पसलका सञ्चालक रामप्रसाद पन्थीले पहिलेको तुलनामा आधा पनि व्यापार नभएको बताउँनुहुन्छ । आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उहाँको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको पन्थी बताउँनुहुन्छ ।

तानसेनका फेन्सी पसलहरु पहिलेको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । बजारमा मान्छेको भीडभाड बढ्दै गएको भए पनि व्यापार हुन नसकेको उनीहरुको गुनासो छ । सरकारले ब्यबसायीहरुलाई करमा ७५ प्रतिशत छुट दिद केहि राहत भएको तानसेन आन्दोलन चोकका अनुषा फेन्सीका संचालक कमल ढकालले बताउनुभयो ।
खाद्यान्न तथा किराना पसलका संचालक जमुना गुप्ताले तानसेनमा भाडा गरि बस्ने अधिकांश बिद्यार्थी तथा कर्मचारी भएकाले गाँउबाट बजार नफर्किदा ब्यापार ठप्प भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिले नगदमा सामान ल्याउनु पर्छ । कतिपय सामान उधारोमा बेच्नुपर्ने बाध्यता रहेको छ ।” अत्यावश्यक सामग्रीमा पर्ने भएकाले ५० प्रतिशत हाराहारी व्यापार भए पनि खर्च धान्न सक्ने अवस्था नरहेको किराना व्यवसायीहरुको गुनासो छ ।

लकडाउनले होटल तथा रेष्टुरेन्टमा झनै ठूलो प्रभाव परेको छ । अब ठूला होटल टाट पर्ने समय आईसकेको होटल ब्यबसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । घरभाडा, कर्मचारीको पारिश्रमिक र बैंकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button