तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा नेपाली सेना, डाक्टर, बैङ्कका कर्मचारीसहित थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज नेपाली सेना, डाक्टर, बैङ्कका कर्मचारीसहित थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणको क्रममा छ महिला र ३७ पुरुष गरी थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका पाँच जना र वीरगन्ज कारागारमा कार्यरत सात गरी १२ जना नेपाली सेनाका सुरक्षाकर्मी रहेका छन् ।

वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैङ्कमा कार्यरत २८ वर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मिर्गौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिला पनि सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका २ का २७ वर्षीय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत ३० वर्षीय एक पुरुषसमेतमा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

त्यस्तै बाराको देवताल गाउँपालिका घर भएका ३३ वर्षका एक पुरुष, बाराकै प्रसौनी–२ घर भएकी ७३ बर्षिया एक वृद्घा, रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ वर्षका एक चिकित्सकमा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले बताउनुभयो ।

नयाँ सङ्क्रमित थपिएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या सात सय ६२ पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी जानकारी दिनुभयो ।

साउन यता मात्रै पाँच सय ९९ संंक्रमित थपिएको उहाँले बताउनुभयो । वीरगन्जमा कोरोना सङ्क्रमणका कारण साउन ७ गते यता १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button