तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बारामा गरी एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा पर्साका एक सय १६ र बाराको १७ सहित एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि हुनेमा २६ महिला, दुई बालबालिकासहित एक सय ३३ जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

सङ्क्रमित मध्ये त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेनटिनमा बस्दै आएका ७६ जना रहेका छन् भने वीरगन्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

त्यसै गरी अन्य सङ्क्रमित हुनेहरूमा वीरगन्ज चिनी मिल क्षेत्रका ५ जना र बाराको सिमरा स्थित क्वारेन्टाईनमा बस्नेहरू मध्येका १७ जनालाई सङ्क्रमण पुष्टि भएको उपाध्यायले बताउनुभयो ।

यता सङ्क्रमित पुष्टि हुनेमा तीन जना सशस्त्र प्रहरीका जवान, नेपाल प्रहरीका ६ जवान, नेपाली सेनाका दुई सैनिक जवान रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

वीरगन्ज कारागारमा कारागार प्रमुख श्रवण कुमार पोखरेल सहित एक कर्मचारी, २४ कैदी बन्दी मध्ये १६ पुरुष, सात महिला र एक  नाबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कारागार प्रमुख कार्यालयलाई नै आइसोलेसन बनाएर बसेका र कैदीबन्दीहरुलाई कारागारभित्र कै अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राखिएको र सुरक्षाकर्मीलाई कारागार परिसरकै समता स्कुलमा निर्माण गरिएको आइसोलेसनमा राखिएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिनुभयो ।

वीरगन्ज कारागार भित्र यस अघि ३ सुरक्षाकर्मीसहित आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button